पोखरा,२१ चैत । फेवाताल क्षेत्रको अतिक्रमण नियन्त्रण गर्न पोखरा महानगरपालिका ले डोजर परिचालन गर्दै अवैध संरचना हटाउने अभियान सुरु गरेको छ।
शनिबार बिहानदेखि सुरु गरिएको अभियानका क्रममा फेवाताल किनारमा बनाइएका टहराहरू भत्काइँदै ३२ वटा संरचना हटाइसकिएको महानगर प्रहरीले जनाएको छ। अभियानमा नेपाल प्रहरीको समेत सहयोग रहेको छ।
महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापा का अनुसार फेवाताल क्षेत्रलाई अतिक्रमणमुक्त बनाउने लक्ष्यसहित क्रमिक रूपमा अवैध संरचना हटाउने काम अघि बढाइएको हो।
यसअघि संघीय सरकारको शासकीय सुधार कार्यसूचीअन्तर्गत फेवाताल क्षेत्रको अतिक्रमण हटाउने विषयलाई प्राथमिकतामा राखिएको थियो। अहिलेको अभियानलाई ताल संरक्षण र पर्यटकीय सौन्दर्य जोगाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

