सुनसरी,२१ चैत । इटहरी उपमहानगरपालिका–२० तरहरामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरी का अनुसार दुर्घटनामा इटहरी–२ शान्तिनगरका करिब ५० वर्षीय अमरबहादुर भुजेल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको हो।
प्रदेश १–०२–०२० प ६८८३ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०२० प ६३४० नम्बरको अर्को मोटरसाइकल शुक्रबार साँझ आपसमा ठोक्किएका थिए।
दुर्घटनामा घाइते भएका इटहरी–२० का १७ वर्षीय रोहित गिरी र १९ वर्षीय स्माइल राईको उपचार भइरहेको छ। राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र गिरीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्का का अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

