काठमाडौं,२१ चैत । नेपाली कांग्रेसका नेता शेखर कोइराला ले आफू पार्टीभित्र कुनै पनि गुटमा आबद्ध नरहेको स्पष्ट पार्दै पार्टीलाई एकढिक्का बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारणसभामा बोल्दै उनले कांग्रेसभित्र एकता आवश्यक रहेको उल्लेख गरे। उनले विशेष महाधिवेशनको विषय आफूले उठाएको भए पनि त्यसलाई केन्द्रीय समितिले नै अघि बढाउनुपर्ने धारणा राखेको बताए।
कोइरालाले विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वमा नयाँ समिति आएको सन्दर्भ उल्लेख गर्दै, त्यसविरुद्ध शेरबहादुर देउवा र पूर्णबहादुर खड्का द्वारा सर्वोच्च अदालतमा मुद्दा दायर भएको पनि बताए। उक्त मुद्दाको अन्तिम टुंगो कहिले लाग्छ भन्ने अन्योल रहेको उनको भनाइ थियो।
उनले पार्टीलाई विभाजनभन्दा माथि उठाएर एकजुट बनाउनु आफ्नो प्राथमिकता भएको दोहोर्याउँदै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउने लक्ष्य रहेको स्पष्ट पारे।

