बीरगन्ज,२३ चैत । पर्सा प्रहरीले ‘स्मार्ट पुलिस’ अवधारणालाई व्यवहारमा उतार्दै डिजिटल प्रविधियुक्त आधुनिक स्नान तथा शौचालय सेवा सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा निर्माण गरिएको उक्त अत्याधुनिक भवन सोमबार एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो।
“स्वच्छता नै स्वास्थ्यको आधार हो” भन्ने मूल मन्त्रलाई केन्द्रमा राखेर तयार गरिएको यो संरचना नेपालमै पहिलोपटक डिजिटल सुविधासहितको शौचालय सेवा भएको दाबी गरिएको छ। यसले प्रहरी कर्मचारीहरूको दैनिक जीवनलाई सहज बनाउनुका साथै स्वच्छता र स्वास्थ्य सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित प्रहरी उपरीक्षक सुदीप राज पाठकले यस्तो पूर्वाधारले प्रहरीको कार्यक्षमता र मनोबल दुवैमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले भवन निर्माणमा सहयोग गर्ने रुङ्गटा वेलफेयर सोसाइटी र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरप्रति आभार प्रकट गरे।
सो अवसरमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले प्रहरीको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने यस्ता पहलहरू अत्यन्त महत्वपूर्ण भएको बताए। उनले स्वच्छता र स्वास्थ्यबीचको प्रत्यक्ष सम्बन्ध उल्लेख गर्दै आधुनिक सुविधायुक्त संरचनाले प्रहरी कर्मचारीहरूको जीवनस्तर सुधार्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा विभिन्न सामाजिक तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नव–निर्मित भवनले प्रहरी कर्मचारीहरूलाई स्वच्छ, सुरक्षित र सुविधा सम्पन्न वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।
यस पहललाई समुदाय र सुरक्षाकर्मीबीचको सहकार्यको उदाहरणका रूपमा समेत हेरिएको छ, जसले भविष्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ विस्तार हुने संकेत दिएको छ।

