spot_img

जलेश्वर अस्पतालमा डायलासिस सेवा सुरु, अब आइसीयू सञ्चालनको माग

spot_img
spot_img

जनकपुर,२५ चैत । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा लामो समयदेखि थन्किएका डायलासिस मेसिन अन्ततः सञ्चालनमा आएका छन्। जनशक्ति अभावका कारण तीन वर्षदेखि प्रयोगविहीन रहेका मेसिनहरू सञ्चालनमा आएपछि मिर्गौला रोगीहरूलाई ठूलो राहत पुगेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री जङ्गीलाल राय, मन्त्रालयका सचिव प्रमोदकुमार यादव र अस्पतालका निमित्त प्रमुख रवि श्रीवास्तव ले संयुक्त रूपमा सेवा उद्घाटन गरेका हुन्। अस्पतालमा रहेका ६ मध्ये ५ वटा डायलासिस मेसिन नियमित रूपमा सञ्चालनमा आएका छन् भने एउटा आकस्मिक प्रयोजनका लागि राखिएको छ।

अस्पताल प्रशासनका अनुसार आवश्यक प्राविधिक जनशक्ति उपलब्ध भएपछि सेवा सुरु गर्न सम्भव भएको हो। यसअघि डायलासिस सेवाका लागि बिरामीहरूलाई जनकपुरदेखि काठमाडौँसम्म धाउनुपर्ने बाध्यता थियो, जसले समय र खर्च दुबैमा ठूलो बोझ पार्दै आएको थियो।

डायलासिस सेवा सुरु भएसँगै स्थानीयवासीले अब आइसीयू, एनआइसीयू लगायतका अन्य विशेषज्ञ सेवा पनि तत्काल सञ्चालन गर्न माग गरेका छन्। कोरोना कालमै जडान गरिएको भेन्टिलेटरसहितको आइसीयू जनशक्ति अभावकै कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।

अस्पतालसँग हाल सीमित जनशक्ति मात्रै रहेको र धेरै कर्मचारी अस्थायी रूपमा कार्यरत रहेको कारण सेवा विस्तारमा समस्या देखिएको छ। यद्यपि प्रदेश सरकारले सेवा विस्तारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

स्थानीयवासीले अस्पताललाई पूर्ण रूपमा सेवा–सुविधासम्पन्न बनाउन र विशेषज्ञ सेवा चाँडै सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय