spot_img

आजदेखि देशभरका सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

spot_img
spot_img

काठमाडौं,२८ वैशाख । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित सरकारले आजदेखि देशभरका सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियान सुरु गरेको छ। यो अभियान जेठ १ गतेसम्म सञ्चालन हुनेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विशेष मार्गदर्शनअनुसार संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सरकारी निकायलाई अभियानमा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिइएको छ।

अभियानको औपचारिक शुभारम्भ आज बिहान वीर अस्पताल बाट गरिएको हो। सरकारले न्यून लागतमा प्रभावकारी सरसफाइ व्यवस्थापन गर्दै सरकारी कार्यालयलाई थप व्यवस्थित र सेवामैत्री बनाउने लक्ष्य राखेको जनाएको छ।

मार्गदर्शनअनुसार अब सरकारी कार्यालयमा सूचना बोर्ड, नागरिक बडापत्र र संकेत चिह्नहरू स्पष्ट तथा व्यवस्थित राख्नुपर्नेछ। कार्यालय परिसर, सेवा क्षेत्र र प्रवेशद्वार सफा र आकर्षक बनाइनेछ भने चर्किएका भित्ताहरूको मर्मत तथा रंगरोगन गरिनेछ।

त्यसैगरी, सबै शौचालयलाई दुर्गन्धरहित बनाउने, नियमित पानी र साबुनको व्यवस्था गर्ने तथा महिलामैत्री र अपाङ्गतामैत्री सुविधा सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

फोहोर व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्दै कार्यालयहरूमा कुहिने र नकुहिने फोहोर छुट्याउन छुट्टाछुट्टै डस्टबिन राख्नुपर्ने व्यवस्था गरिएको छ। खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।

सरकारले कार्यालय परिसर वरपरको क्षेत्र, नाली तथा ढल सफा राख्न, पार्किङ व्यवस्थापन सुधार गर्न र सेवाग्राहीलाई सहज वातावरण दिन ‘हेल्प डेस्क’ सञ्चालन गर्न पनि निर्देशन दिएको छ।

अभियानलाई प्रभावकारी र दिगो बनाउन प्रत्येक कार्यालयमा ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोकिनेछ भने नियमित अनुगमन र मासिक स्व–मूल्यांकनको व्यवस्था समेत गरिनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय