spot_img

आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

spot_img
spot_img

काठमाडौं,२८ वैशाख  । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ।

संसद् सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशनमा राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।

संसद् सचिवालयले संयुक्त बैठक सुरु हुनुभन्दा १५ मिनेटअघि नै उपस्थित हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई अनुरोध गरेको छ। त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी सूचना प्रस्तुत गरिने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गरिने सम्भावित कार्यसूची रहेको छ।

त्यसैगरी, प्रतिनिधिसभा नियमावलीसँग सम्बन्धित प्रस्ताव, बाधा अड्काउ फुकाउसम्बन्धी अनुमोदन तथा सरकारद्वारा जारी आठ वटा अध्यादेश पेस गरिने कार्यक्रम पनि रहेको संसद् सचिवालयले जनाएको छ। ती अध्यादेश राष्ट्रियसभामा पनि प्रस्तुत गरिनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय