सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान कक्ष स्थापना गर्न सरकारको निर्देशन

spot_img

काठमाडौं,२८ चैत । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले जारी गरेको निर्देशनअनुसार विमानस्थलहरूमा सुरक्षित, गोपनीयता सुनिश्चित र सरसफाइयुक्त स्तनपान कक्ष सञ्चालन गर्नुपर्नेछ। आवश्यकताअनुसार ती कक्षहरूको स्तरोन्नति गर्न तथा बिरामी र विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाह कक्षसमेत सञ्चालनमा ल्याउन भनिएको छ।

यसका साथै, विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन, दैनिक सरसफाइ ‘लगबुक’ प्रणाली लागू गर्न तथा विश्व स्वास्थ्य सङ्गठनअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन का स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्न पनि निर्देशन दिइएको छ।

महिला यात्रुका लागि शौचालयमा निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्नसमेत भनिएको छ। मन्त्रालयले तोकिएका निर्देशन कार्यान्वयन गरी त्यसको जानकारी मन्त्रालयमा पठाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

साथै, आम नागरिक र यात्रुलाई पनि निर्देशन कार्यान्वयन भए–नभएकोबारे मन्त्रालयलाई जानकारी गराउन अनुरोध गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय