दुई दिने बिदा कार्यान्वयन नगरे आन्दोलन गर्ने चिकित्सकको चेतावनी

spot_img

काठमाडौं,२९ चैत ।  सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि स्वास्थ्य क्षेत्रलाई त्यसबाट पूर्ण रूपमा समेट्न नसकेको भन्दै चिकित्सकहरूले आपत्ति जनाएका छन्। नेपाल चिकित्सक संघले सरकारको निर्णयलाई स्वागत गरे पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि समान सुविधा लागू गर्न माग गरेको छ।

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख परामर्शदाता तथा अर्थोपेडिक सर्जन प्राध्यापक डा. बद्री रिजालले चिकित्सकहरूको मानसिक र शारीरिक स्वास्थ्यलाई ध्यानमा राख्दै दुई दिने बिदा अनिवार्य हुनुपर्ने बताएका छन्। उनका अनुसार अत्यधिक कार्यभारका कारण चिकित्सकहरू ‘बर्नआउट’ समस्यामा परिरहेका छन्।

सरकारले इन्धन खपत घटाउन शनिबार र आइतबार बिदा दिने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएपछि विवाद उत्पन्न भएको हो।

डा. रिजालले सबै कर्मचारीका लागि समान नीति लागू हुनुपर्ने भन्दै अस्पतालअनुसार फरक नियमले अन्योल सिर्जना गरेको बताए। उनले चिकित्सकहरू २४ सै घण्टा ‘अन–कल’ ड्युटीमा रहने र हप्तामा ८० घण्टाभन्दा बढी काम गर्न बाध्य भएको उल्लेख गर्दै यसलाई श्रम शोषणको रूपमा व्याख्या गरे।

उनले प्रशासनिक र प्राविधिक कर्मचारीबीच देखिएको सुविधा विभेदप्रति पनि असन्तुष्टि जनाएका छन्। साथै, हालको दरबन्दीले बढ्दो जनसंख्यालाई गुणस्तरीय सेवा दिन नसक्ने भन्दै स्वास्थ्य संरचना पुनःसमायोजन गर्नुपर्ने सुझाव दिएका छन्।

यदि सरकारले समस्या समाधान नगरी चिकित्सकहरूको माग बेवास्ता गरे आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि उनले दिएका छन्। साथै, यसले चिकित्सक पलायन र स्वास्थ्य सेवामा गम्भीर असर पार्ने उनको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय