काठमाडौं,०४ वैशाख । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यले जनजीवन प्रभावित भएको भन्दै करको दर घटाएर मूल्य नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ।
पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले तत्काल हस्तक्षेप गरेर इन्धन मूल्य नियन्त्रण गर्नुपर्ने निष्कर्ष निकालेको हो।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा मध्यपूर्वमा देखिएको संकटका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य बढेको र त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परेको उल्लेख छ।
कांग्रेसले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य वृद्धिसँगै बढ्दै गएको मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिनुपर्ने माग गरेको छ। साथै पूर्वाधार विकास करलाई वर्तमान सन्दर्भमा औचित्यहीन भन्दै हटाउनुपर्ने धारणा पनि राखेको छ।
त्यस्तै भन्सार, सडक मर्मत तथा सुधार शुल्क, प्रदूषण नियन्त्रण शुल्क र हरित करजस्ता करहरू निश्चित समयका लागि घटाउन वा हटाउनुपर्ने सुझाव कांग्रेसले दिएको छ।
पार्टीले हालको कर संरचनाका कारण नेपाल आयल निगमले महँगोमा खरिद गरी सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आएको भन्दै स्पष्ट कर सहुलियत नीति आवश्यक रहेको जनाएको छ।
साथै विद्यार्थी र सर्वसाधारणलाई बढ्दो यातायात खर्चबाट राहत दिन विशेष सहुलियत कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरिएको छ।

