सलहेश फूलबारी मा नयाँ वर्षको मेला, भक्तजनको भारी भीड

spot_img

सिरहा,०१ वैशाख । नयाँ वर्ष २०८३ को अवसरमा सिरहास्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल सलहेश फूलबारीमा भव्य मेला लागेको छ। हरेक वर्ष वैशाख १ गते मात्रै फुल्ने विश्वास गरिएको दुर्लभ सुनाखरी फूलको दर्शन गर्न बिहानैदेखि हजारौँ श्रद्धालुहरूको भीड लागेको छ।

लहान नगरपालिका–१२ र २२ क्षेत्रमा फैलिएको करिब नौ बिघा क्षेत्रफलमा रहेको फूलबारीभित्रको हारमको रूखमा आज सुनाखरी फूल ढकमक्क फुलेको दृश्यले भक्तजनलाई आकर्षित गरेको छ। फूललाई १४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ।

नेपालका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती क्षेत्रबाट आएका भक्तजनहरू बिहान ४ बजेदेखि नै पूजाअर्चनाका लागि लाइनमा बसेका छन्। विशेषगरी पासवान समुदायका इष्टदेव मानिने राजा सलहेशको पूजा गर्दा मनोकामना पूरा हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने र रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ।

भक्तजनको अत्यधिक चापलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भीड व्यवस्थापनमा सक्रियता देखाएको छ भने सादा पोसाकका प्रहरी र सिसीटिभीमार्फत निगरानी पनि बढाइएको छ। स्वयंसेवकहरूले यातायात र आवतजावत सहज बनाउन सहयोग गरिरहेका छन्।

यद्यपि, सरकारले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरे पनि अपेक्षित पूर्वाधार विकास हुन नसकेको भन्दै स्थानीय सरोकारवालाहरूले गुनासो गरेका छन्। उनीहरूले तीनै तहका सरकारबीच समन्वय गरी दीर्घकालीन योजना बनाएर यस क्षेत्रलाई व्यवस्थित धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय