काठमाडौं,०२ वैशाख । नागरिकको कानुनी पहिचान सुदृढ गर्दै राज्यको तथ्याङ्कीय प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यका साथ आजदेखि देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु भएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग को अगुवाइमा सञ्चालनमा आएको यो अभियान ७५३ वटै स्थानीय तहमा एकसाथ सुरु गरिएको हो। अभियानले जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइ जस्ता व्यक्तिगत घटनाहरू समयमै सरकारी अभिलेखमा दर्ता गराउनेबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
यस क्रममा स्थानीय तहहरूले विद्यालय, सामुदायिक संस्था र नागरिक समाजसँग सहकार्य गर्दै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन्। विभागले यसअघि नै सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सप्ताहलाई उत्सवका रूपमा मनाउन र घरदैलो स्तरसम्म सन्देश पुर्याउन निर्देशन दिएको थियो।
सरकारी निकायका अनुसार, व्यक्तिगत घटना दर्ता नागरिकको कानुनी अस्तित्व स्थापित गर्ने आधार मात्र नभई भविष्यका योजना निर्माण, सामाजिक सुरक्षा भत्ता वितरण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन समेत अत्यन्त आवश्यक मानिन्छ।
सप्ताह अवधिभर देशभरका वडा कार्यालयहरूले र्याली, अन्तक्रिया तथा सूचना सामग्री वितरण जस्ता कार्यक्रममार्फत नागरिकलाई दर्ताको महत्त्वबारे जानकारी गराउनेछन्। समयमै घटना दर्ता नगर्दा हुने कानुनी जटिलता कम गर्न र शतप्रतिशत दर्ता सुनिश्चित गर्न यो अभियान महत्वपूर्ण हुने विश्वास गरिएको छ।

