बीरगन्ज,०३ वैशाख । मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार बनेको करिब ६ महिना बित्दा पनि अपेक्षित विकास र बजेट कार्यान्वयन हुन नसक्दा सत्ता साझेदार दलहरूबीच असन्तुष्टि बढ्दै गएको छ।
सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी ले मुख्यमन्त्री कृष्ण यादव को कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकारको प्रभावकारितामाथि गम्भीर टिप्पणी गरेका छन्।
जनमत पार्टीका महासचिव चन्दन सिंहले बजेट खर्च अत्यन्तै न्यून रहेको उल्लेख गर्दै सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्। उनका अनुसार सत्ता साझेदार दललाई बेवास्ता गर्दै सरकार सुस्त गतिमा अघि बढिरहेको छ, जसले गर्दा सरकारको भविष्यबारे पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्छ।
यता, जसपा नेपालका प्रदेशसभा सदस्य सरोज यादवले भने कर्मचारीतन्त्रको असहयोगका कारण सरकारको काम प्रभावित भएको तर्क गरेका छन्। तर, साझेदार दलहरूले प्रशासनलाई प्रभावकारी बनाउने जिम्मेवारी नेतृत्वकै भएको भन्दै मुख्यमन्त्रीको क्षमतामाथि प्रश्न उठाएका छन्।
गत मंसिर १९ गते जटिल राजनीतिक परिस्थितिबीच गठन भएको यस सरकारमा कांग्रेससहित जसपा, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी र अन्य दलहरू सहभागी छन्।
आर्थिक वर्ष सकिन लाग्दा पनि बजेट खर्च कमजोर रहनु र आन्तरिक विवाद बढ्दै जानुले मधेश प्रदेशको राजनीति पुनः अस्थिर हुने संकेत देखिएको छ। विश्लेषकहरूका अनुसार मुख्यमन्त्रीले साझेदार दलको विश्वास कायम राख्न नसके सरकारको समीकरण कुनै पनि बेला परिवर्तन हुन सक्छ।

