रामभौरी भाठा धाममा नयाँ वर्षसँगै तीन दिने मेला सुरु

spot_img

बीरगन्ज,०२ वैशाख । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर (रामभौरी भाठा धाम) मा नयाँ वर्ष २०८३ को अवसर पारेर तीन दिने भव्य मेला सुरु भएको छ। वैशाख १ देखि ३ गतेसम्म सञ्चालन हुने मेलामा नेपाल र भारतका विभिन्न क्षेत्रबाट श्रद्धालुहरूको ठूलो सहभागिता देखिएको छ।

मन्दिर व्यवस्थापन समितिका अनुसार भाठा धाममा वर्षमा तीन पटक—वैशाख त्रयोदशी, माघको श्रीपञ्चमी र साउन महिनाभर—विशेष मेला लाग्ने परम्परा छ। मेलाको अवसरमा भक्तजनहरूले अष्टजाम, भजन–कीर्तन गर्दै धार्मिक वातावरणलाई अझ जीवन्त बनाइरहेका छन्।

पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस धार्मिक स्थलसम्म पुग्न रंगपुर टाँडी बजारबाट करिब १४ किलोमिटर जङ्गल मार्ग पार गर्नुपर्छ। यात्राका क्रममा हरिण, मयुर, बाँदर, निलगाईदेखि हात्तीसम्मका वन्यजन्तु देख्न पाइने भएकाले यो यात्रा धार्मिकसँगै प्राकृतिक रूपमा पनि आकर्षक मानिन्छ।

इतिहासका हिसाबले करिब १०० वर्ष पुरानो मानिने यो मन्दिर सुरुवातमा सानो खरको झुपडीबाट सुरु भएको बताइन्छ। ढुङ्गालाई दुधेश्वरनाथ महादेवका रूपमा पूजा गर्न थालेपछि यसको धार्मिक महत्व विस्तार हुँदै गएको हो। अहिले मन्दिर परिसरमा शिव–पार्वतीको पक्की संरचना, धर्मशाला, खानेपानी र अस्थायी शौचालयको व्यवस्था गरिएको छ।

मन्दिर पुग्न भक्तजनले गौत्री भलुवाई नदीमा स्नान गरी करिब डेढ किलोमिटर पैदल यात्रा र ३०० भन्दा बढी सिँढी उक्लिनुपर्छ। नेपाली सेनाका अनुसार मेलाको पहिलो दिनमै करिब १० हजारभन्दा बढी श्रद्धालु मन्दिर पुगेका छन्, जसमा सयौं सवारीसाधन प्रयोग गरिएको थियो।

भारतका रक्सौल, बेतिया, अरेराजलगायत क्षेत्र तथा नेपालका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र चितवनबाट भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको छ।

मेला व्यवस्थापनमा संलग्न शम्भु यादव ले भक्तजनको व्यवस्थापनका लागि निरन्तर प्रयास भइरहेको बताए। साथै, स्थानीय सञ्चारकर्मी चिरञ्जीवी यादव ले भाठा धामको दीर्घकालीन विकासका लागि वर्षभर धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय