काठमाडौं,०३ वैशाख । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरे पनि वित्तीय संकट समाधान नहुने देखिएको छ।
निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाएको छ। नयाँ मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ। यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य पनि ५ रुपैयाँले बढाएर २५६ रुपैयाँ कायम गरिएको छ भने पेट्रोलको मूल्य भने यथावत् राखिएको छ।
मूल्य वृद्धिपछि पनि निगम घाटामै रहने प्रक्षेपण गरिएको छ। निगमका अनुसार डिजेलमा मात्रै प्रतिलिटर करिब ९९ रुपैयाँ घाटा रहेको छ, जसका कारण आगामी १५ दिनमै करिब पौने ६ अर्ब रुपैयाँ नोक्सानी हुने अनुमान गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जानु र भारतीय आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्य उच्च आएपछि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।
तर, एकैपटक ठूलो दरमा भएको मूल्य वृद्धिले बजारमा ढुवानी खर्च बढ्ने र त्यसको असर दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्ने भन्दै उपभोक्ताहरूले असन्तुष्टि जनाएका छन्। साथै, हवाई इन्धन महँगिएसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने संकेत गरेका छन्, जसले सर्वसाधारणको यात्रा खर्च थप बढ्ने देखिन्छ।

