“जनप्रतिनिधि शासक होइन, सेवक हो” : सांसद पन्त

spot_img

बीरगन्ज,०२ वैशाख । पर्सा क्षेत्र नं. १ का सांसद बुद्धिप्रसाद पन्त ले जनप्रतिनिधिको मुख्य भूमिका सेवा र समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन्।

नारायणी एफएम ले आयोजना गरेको ‘सम्मान तथा विशेष संवाद’ कार्यक्रममा बोल्दै उनले जनताको दैनिक समस्यालाई नीतिगत तहसम्म पुर्‍याउने आफ्नो प्रतिबद्धता दोहोर्‍याए। “जनप्रतिनिधि भनेको शासक होइन, जनताको सेवक र समस्या समाधान गर्ने सेतु हो,” उनले स्पष्ट पारे।

पन्तले अहिलेका नागरिकले ठूलो आश्वासनभन्दा सरल, सहज र प्रभावकारी सेवा चाहेको उल्लेख गर्दै पर्सावासीले भोगिरहेका प्रशासनिक झन्झट समाधानका लागि आफू निरन्तर सक्रिय रहने बताए। साथै, सुशासन कायम गर्न सरकार कठोर रूपमा उभिनुपर्ने उनको धारणा थियो।

कार्यक्रममा रेडियोका सल्लाहकार संयोजक गणेश लाठ ले जनप्रतिनिधिहरू स्वार्थ समूहको प्रभावबाट मुक्त हुनुपर्ने सुझाव दिए। उनले वीरगञ्ज जस्तो औद्योगिक तथा व्यापारिक सहरका समस्याहरू—विशेषतः भन्सार जटिलता र व्यावसायिक असुरक्षा—लाई संसदमा प्राथमिकताका साथ उठाउन आग्रह गरे।

रेडियोका अध्यक्ष गोविन्द देवकोटा ले नागरिक अपेक्षा बढ्दै गएको सन्दर्भमा जनप्रतिनिधिले ठोस कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए। कार्यक्रममा शिक्षा, स्वास्थ्य, ट्राफिक व्यवस्थापन र औद्योगिक विकासका विषयमा पनि विस्तृत छलफल भएको थियो।

स्थानीय सरोकारवालाहरूले वीरगञ्जको पहिचान जोगाउँदै यसलाई देशकै प्रमुख आर्थिक केन्द्रका रूपमा विकास गर्न जनप्रतिनिधिको सक्रिय भूमिका निर्णायक हुने धारणा राखेका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय