शिक्षा मन्त्रालयको निर्देशन अवज्ञा गर्दै केही स्थानीय तह र निजी विद्यालयद्वारा भर्ना तथा कक्षा सञ्चालन सुरु

spot_img

काठमाडौँ,०३ वैशाख । संघीय सरकारको शैक्षिक सत्रसम्बन्धी निर्णयलाई केही स्थानीय तह र निजी विद्यालयहरूले अस्वीकार गर्दै विद्यार्थी भर्ना तथा पठनपाठन सुरु गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने र वैशाख २१ गतेबाट नियमित पठनपाठन थाल्ने निर्देशन दिएको थियो। साथै आइतबार सार्वजनिक बिदा दिने निर्णय पनि गरिएको थियो। तर केही स्थानीय तहहरूले आफ्नै शैक्षिक क्यालेन्डर लागू गर्दै पूर्वनिर्धारित मितिभन्दा अघि नै शैक्षिक गतिविधि सञ्चालन गरेका हुन्।

संविधानअनुसार माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले आफ्नै निर्णय अनुसार काम गरेको उनीहरूको दाबी छ। यसबीच संघीय सरकारको निर्देशन उल्लंघन गरे कारबाही हुने चेतावनी समेत दिइएको छ।

तनहुँको आँबुखैरैनी गाउँपालिकाले वैशाख २ गतेदेखि नै भर्ना अभियान र पठनपाठन सुरु गरिसकेको छ। गाउँपालिका अध्यक्ष शुक्र चुमान ले स्थानीय शैक्षिक क्यालेन्डरअनुसार विद्यालय सञ्चालन गरिएको बताए।

त्यस्तै देवघाट गाउँपालिकाले वैशाख २ देखि भर्ना र वैशाख ६ देखि नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। झिमरुक गाउँपालिकाले भने वैशाख २ गतेदेखि भर्ना र १५ गतेदेखि कक्षा सञ्चालन गर्ने निर्देशन दिएको छ।

नुवाकोटको तारकेश्वर गाउँपालिकाले आइतबारको सार्वजनिक बिदा लागू नगर्ने निर्णय गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएको छ। प्रशासनका अनुसार लामो बिदाले विद्यार्थीको सिकाइमा असर पर्ने भएकाले नियमित कक्षा सञ्चालन आवश्यक ठहर गरिएको हो।

यसैबीच निजी विद्यालयहरूको छाता संगठन एनप्याब्सन ले पनि सरकारको निर्णय विपरीत भर्ना तथा कक्षा सञ्चालन गर्न मातहतका विद्यालयलाई निर्देशन दिएको छ। त्यस्तै प्याब्सन काठमाडौं ले पनि वैशाख २ गतेदेखि भर्ना र वैशाख १५ देखि नियमित कक्षा सञ्चालन गर्न आह्वान गरेको छ।

संघीय सरकार, स्थानीय तह र निजी विद्यालयबीच शैक्षिक सत्रको कार्यान्वयनमा देखिएको फरक निर्णयले विद्यालय, शिक्षक र अभिभावकहरूमा अन्योल सिर्जना भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय