पर्सा प्रशासनमा नयाँ व्यवस्था: नागरिकता लिँदै राष्ट्रिय परिचय पत्र विवरण अनिवार्य

spot_img

बीरगन्ज,०३ वैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि नागरिकता प्राप्त गर्नेबित्तिकै राष्ट्रिय परिचय पत्र (नेशनल आईडी) को विवरणसमेत भर्ने प्रक्रिया सुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा अहिले नागरिकता र राष्ट्रिय परिचय पत्र दुवै सेवा करिब १ घण्टाभित्रै उपलब्ध हुन थालेपछि सेवाग्राहीहरू अत्यन्त सन्तुष्ट देखिएका छन्। एक सेवाग्राहीले भने, “पहिले एउटै कामका लागि पटक–पटक धाउनुपर्थ्यो, अहिले एकै ठाउँमा छिटो सेवा पाउँदा निकै सहज भएको छ, यसले हाम्रो समय र खर्च दुवै बचत गरेको छ।”

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सिडियो) भोला दाहालका अनुसार नागरिकता वितरणसँगै राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउने उद्देश्यले यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। यसले सरकारी सेवा प्राप्ति, पहिचान प्रमाणीकरण तथा डिजिटल प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले छुट्टै समय र झन्झट बेहोर्नु नपर्ने भएको छ। नागरिकता लिने प्रक्रियासँगै राष्ट्रिय परिचय पत्रको विवरण संकलन गरिने भएकाले समयको बचत हुनुका साथै सेवा छिटो, छरितो र पारदर्शी हुने विश्वास प्रशासनले लिएको छ।

यस कदमले दीर्घकालीन रूपमा राज्यका डिजिटल अभिलेखहरू व्यवस्थित गर्न मद्दत पुर्‍याउने र सरकारी सेवामा पहुँच अझ सहज बनाउने लक्ष्य राखिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकलाई नयाँ व्यवस्थाबारे जानकारी राख्दै आवश्यक सहयोग गर्न अनुरोधसमेत गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय