काठमाडौँ,०३ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलर बराबर पुर्याउने लक्ष्यसहित काम गर्नुपर्ने बताएका छन्।
बिहीबार अन्तर–सरकारी वित्त परिषद् (IGFC) को बैठकलाई सम्बोधन गर्दै उनले आगामी बजेट पनि सोही दीर्घकालीन आर्थिक लक्ष्यसँग मेल खाने गरी तयार गरिने बताए। उनका अनुसार देशको आर्थिक संरचनालाई तीव्र गतिमा विस्तार गर्न निजी क्षेत्रको भूमिका अझै बढाउन आवश्यक छ।
वाग्लेले सरकारको नियमित बजेट प्रणाली बाहिरबाट पनि विकास परियोजना छिटो अघि बढाउने विकल्पबारे छलफल भइरहेको जानकारी दिए। विशेषगरी ठूला पूर्वाधार तथा सडक आयोजनाहरू निजी क्षेत्रको सहभागितामा अघि बढाउन सकिने सम्भावनाबारे सरकार गम्भीर रहेको उनको भनाइ थियो।
उनले ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर हासिल गर्न सके मात्र ५–७ वर्षभित्र १०० अर्ब डलरको अर्थतन्त्र सम्भव हुने उल्लेख गरे। “त्यस स्तरको अर्थतन्त्र भएपछि देशको अन्तर्राष्ट्रिय छवि र आर्थिक हैसियत नै फरक हुन्छ,” उनले भने।
साथै, उनले अब नीतिगत कब्जा (policy capture) को युग समाप्त भएको दाबी गर्दै विकासमुखी र समावेशी आर्थिक योजना आवश्यक भएको बताए। सबै क्षेत्रलाई माथि उठाउने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए।

