पर्सा प्रहरीको चैत प्रगति सार्वजनिक: १५२ मुद्दा दर्ता, १०२ पक्राउ, करोडौँ राजस्व असुली

spot_img

बीरगन्ज,०३ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले चैत महिनामा गरेको कार्यसम्पादन विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण, राजस्व चुहावट रोकथाम र फैसला कार्यान्वयनमा उल्लेखनीय उपलब्धि हासिल भएको जनाएको छ।

प्रहरीका अनुसार एक महिनाको अवधिमा कुल १५२ मुद्दा दर्ता भएका छन्। तीमध्ये ५८ मुद्दा संगठित तथा आर्थिक अपराधसँग सम्बन्धित रहेको जनाइएको छ। सोही अवधिमा विभिन्न घटनामा संलग्न १०२ जना प्रतिवादी पक्राउ परेका छन्।

फैसला कार्यान्वयनतर्फ फरार रहेका ६८ जनालाई पक्राउ गरी १३ वर्ष ३ महिना २५ दिन कैद भुक्तान गराइएको छ। साथै, १ करोड २३ लाख २० हजार ७४८ रुपैयाँ बराबरको जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ५ करोड ४० लाख ४२ हजार ४०५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ। भन्सार छलीका सामग्रीसहित एक जना पक्राउ परेका छन् भने वन पैदावारतर्फ २५ क्यूबिक फिट सालको काठ र दुई वटा साइकल जफत गर्दै १ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

लागूऔषध नियन्त्रणतर्फ ७ मुद्दामा १३ जना पक्राउ परेका छन्। यस क्रममा १६४ किलोभन्दा बढी गाँजा, १.८५ ग्राम ब्राउन सुगर तथा ५१ हजार ८०० वटा विभिन्न प्रकारका लागूऔषधजन्य औषधि बरामद गरिएको छ। साथै तीन वटा अवैध हातहतियार र करिब ३०० ग्राम बारुदसमेत फेला परेको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनातर्फ चैत महिनामा ७८ वटा दुर्घटना भएका छन्, जसमा २ जनाको मृत्यु र १२१ जना घाइते भएका छन्। ट्राफिक कारबाहीमार्फत ९०९ सवारीसाधनबाट ११ लाख ५६ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।

घरेलु हिंसासम्बन्धी ६७ उजुरीमध्ये ६४ वटा मिलापत्रमा टुंगिएको प्रहरीले जनाएको छ। साथै, लागूऔषध, आत्महत्या तथा ट्राफिक सचेतनासम्बन्धी १४२ कार्यक्रम सञ्चालन गरी ३,३५५ जनालाई लाभान्वित गरिएको छ।

हरि बहादुर बस्नेत का अनुसार जिल्लामा सीसीटीभी निगरानी, सामाजिक सञ्जाल अनुगमन र नियमित गस्तीलाई सुदृढ बनाउँदै शान्ति–सुरक्षालाई अझ प्रभावकारी बनाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय