काठमाडौं,०४ वैशाख । नेपाल क्रिकेटमा नयाँ नेतृत्वको सुरुवात भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले यूएईविरुद्ध हुने टी–२० आई शृङ्खलाका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरी लाई कप्तान नियुक्त गर्दै १५ सदस्यीय टोली सार्वजनिक गरेको छ।
त्रिवि क्रिकेट मैदानमा सोमबार र मंगलबार हुने दुई खेलको शृङ्खलाका लागि घोषणा गरिएको टोलीमा यसपटक नियमित कप्तान रोहित पौडेल समावेश छैनन्। क्यानका अनुसार रोहितले ओडिआई टोलीको नेतृत्व गर्नेछन् भने टी–२० मा दीपेन्द्रलाई जिम्मेवारी दिइएको हो। यसलाई नेतृत्व परिवर्तनसँगै नयाँ रणनीतिक अभ्यासको रूपमा हेरिएको छ।
टोलीमा केही खेलाडीको पुनरागमन पनि भएको छ। आक्रामक ब्याटर कुशल मल्ल र विकेटकिपर अर्जुन साउद पुनः समावेश भएका छन्। विशेषगरी अर्जुनले सन् २०२२ पछि पहिलोपटक टी–२० टोलीमा स्थान बनाएका हुन्।
यसैगरी, युवा खेलाडी सन्तोष यादव र हेमन्त धामीले पहिलोपटक राष्ट्रिय टोलीमा अवसर पाएका छन्। उनीहरूको समावेशले नेपाली टोलीमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।
घरेलु मैदानमा हुने यो शृङ्खलालाई दीपेन्द्रको कप्तानी क्षमता परीक्षण गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि हेरिएको छ।

