बीरगन्ज,०४ वैशाख । जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरस्थित गौशालाको सार्वजनिक जग्गामा बनेका अवैध संरचना हटाएर क्षेत्र पूर्ण रूपमा खाली गराएको छ। ६ लेन सडक नजिकको बहुमूल्य उक्त जग्गा लामो समयदेखि अतिक्रमणमा परेको थियो।
उपमहानगरपालिकाले यसअघि सूचना जारी गर्दै वैशाख २ गतेसम्म अतिक्रमित संरचना हटाउन अल्टिमेटम दिएको थियो। समयसीमाभित्र केही व्यवसायीले आफैं हटाए पनि अटेरी गर्नेहरूका संरचना डोजर प्रयोग गरी हटाइएको हो।
कारबाहीका क्रममा नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमा सुरक्षात्मक रूपमा काम अघि बढाइएको थियो। सुरुवातमा सामान्य विरोध भए पनि प्रशासनको कडाइपछि अवस्था नियन्त्रणमा आएको थियो।
अभियानअन्तर्गत मासु पसल, खाजाघर, कबाड केन्द्र, भेटेनरी पसल तथा अन्य साना व्यवसाय सञ्चालन गरिरहेका दर्जनौँ टहरा हटाइएका छन्। वर्षौँदेखि अतिक्रमित क्षेत्र अहिले पूर्ण रूपमा खाली गरिएको छ।
यद्यपि, प्रभावित साना व्यवसायीहरूले रोजगारी गुमेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले वैकल्पिक व्यवस्थापन र भविष्यमा व्यवसाय सञ्चालनका लागि अवसर दिन स्थानीय सरकारसँग माग गरेका छन्। उपमहानगरपालिकाले भने सार्वजनिक सम्पत्तिको संरक्षण प्राथमिकता भएको उल्लेख गर्दै अतिक्रमण हटाउने अभियान आगामी दिनमा अन्य स्थानमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।

