काठमाडौं,०५ वैशाख । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुर तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी सोमबार काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
कपुरको यो भ्रमण वर्तमान सरकार गठनपछि हुने उच्चस्तरीय अमेरिकी भ्रमणका रूपमा हेरिएको छ। विशेषगरी दक्षिण एसियामा बढ्दो भूराजनीतिक सक्रियताबीच उनको नेपाल आगमनलाई अर्थपूर्ण रूपमा लिइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०८१ फागुनमा पूर्व सहायक विदेशमन्त्री डोनाल्ड लु लाई हटाउँदै कपुरलाई उक्त जिम्मेवारी दिएका थिए। भारतीय मूलका कपुर दक्षिण एसियाली सुरक्षा, आणविक रणनीति र अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञका रूपमा चिनिन्छन्।
उनले यसअघि US Naval Postgraduate School मा प्राध्यापकका रूपमा कार्य गरेका थिए भने विदेश विभागको नीति योजना टोलीमा समेत काम गरिसकेका छन्। भारत–पाकिस्तान सम्बन्ध, क्षेत्रीय सुरक्षा र आतंकवादजस्ता विषयमा उनको अध्ययन विशेष मानिन्छ।
भ्रमणका क्रममा कपुरले परराष्ट्रमन्त्री शिशिर खनाल लगायत उच्चस्तरीय सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री बालेन शाह सँग भेट हुने विषय भने अझै टुंगो लागेको छैन।
यस भ्रमणमा क्षेत्रीय स्थिरता, सुरक्षा सहकार्य र द्विपक्षीय सम्बन्धका विषयमा नेपाल र अमेरिकाबीच धारणा आदानप्रदान हुने अपेक्षा गरिएको छ।

