सर्लाही,०५ वैशाख । जिल्ला प्रहरी कार्यालय सर्लाहीले चैत महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लामा अपराध नियन्त्रणका गतिविधि उल्लेख्य रहेको जनाएको छ। एक महिनाको अवधिमा १३२ वटा अपराध दर्ता हुँदा ९६ जना प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीका अनुसार ज्यानसम्बन्धी, चोरी, सामाजिक तथा सवारी ज्यानसँग सम्बन्धित मुद्दाहरू बढी दर्ता भएका छन्। बैंकिङ कसुर, जुवातास, ठगी र हातहतियारसम्बन्धी गम्भीर प्रकृतिका ३५ मुद्दा समेत दर्ता भएका छन्।
अनुसन्धानतर्फ प्रहरीले सक्रियता देखाउँदै १५ वटा पेण्डिङ मुद्दा फर्छ्योट गरेको जनाएको छ। फैसला कार्यान्वयनअन्तर्गत ५ जना पक्राउ परेका छन् भने उनीहरूबाट ८ वर्ष ४ महिना कैद र २० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।
सामाजिक पक्षमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६८ उजुरी परेकोमा २६–४० वर्ष उमेर समूहका पीडित बढी रहेको देखिएको छ। हराएका ३२ जनामध्ये १६ जना फेला पारिएका छन् भने बाँकीको खोजी जारी छ। घरेलु हिंसाका ३६ उजुरीमध्ये २२ वटा मिलापत्र गरिएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रणतर्फ प्रहरीले ३७३.९५० केजी गाँजासहित अन्य लागूऔषध बरामद गर्दै ८ जना पक्राउ गरेको छ।
यसबीच चैत महिनामा १८ जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक हुँदा चिन्ता बढाएको छ। विशेषगरी १६–२५ र २६–३५ वर्ष उमेर समूहमा यस्ता घटना बढी देखिएको प्रहरीले जनाएको छ।
शान्ति सुरक्षा कायम गर्न ९,२१० ड्युटी परिचालन गरी १८,४२० जनशक्ति खटाइएको थियो। सवारी दुर्घटनातर्फ ९६ घटना हुँदा ५ जनाको मृत्यु र १२९ जना घाइते भएका छन्। दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको विश्लेषण गरिएको छ।
ट्राफिक कारबाहीबाट १३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ भने राजस्व चुहावट नियन्त्रणअन्तर्गत करिब ७ लाख ७७ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। साथै ८० लिटर अवैध मदिरा पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

