काठमाडौं,०५ वैशाख । नेपाल पानी उद्योग महासंघ ले प्रशोधित पिउने पानीको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ। उत्पादन लागत उल्लेख्य रूपमा बढेपछि पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले यस्तो निर्णय लिएको हो।
महासंघले जारी गरेको विज्ञप्तिअनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार तथा जार क्यापजस्ता कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ। साथै, पेट्रोलियम पदार्थ महँगिएसँगै ढुवानी खर्च पनि उच्च रूपमा बढेको जनाइएको छ।
अन्तर्राष्ट्रिय परिस्थितिको असरसमेत नेपाली बजारमा देखिएको महासंघको भनाइ छ। विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्ध का कारण विश्व आपूर्ति प्रणाली प्रभावित हुँदा स्थानीय उद्योगहरूमा लागत दबाब थपिएको उल्लेख गरिएको छ।
महासंघले यो निर्णय नाफामुखी नभई बाध्यात्मक भएको स्पष्ट पारेको छ। उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिले उद्योगको दिगोपन, गुणस्तर कायम र नियमित आपूर्ति प्रभावित हुने भएकाले मूल्य समायोजन अपरिहार्य भएको बताइएको छ।
साथै, महासंघले सरकारसँग कच्चा पदार्थको सहज आपूर्ति, उद्योग सञ्चालनका लागि अनुकूल वातावरण र ढुवानी खर्च नियन्त्रण गर्न आवश्यक पहल गर्न माग गरेको छ।
महासचिव ध्रुव प्रसाद अधिकारी द्वारा जारी विज्ञप्तिमा उपभोक्ता, वितरक तथा सरोकारवालालाई वर्तमान परिस्थितिलाई बुझेर सहयोग गर्न अपिल समेत गरिएको छ।

