प्रक्रिया नपुर्‍याई विज्ञापन निकाल्दा विद्यालयमा शिक्षक भर्ना रोक

spot_img

सिरहा,०५ वैशाख । सिरहाकाे  गोलबजार नगरपालिका–८ स्थित जनता माध्यमिक विद्यालय चन्द्रालपुर ले निकालेको शिक्षक तथा कर्मचारी भर्ना विज्ञापन स्थगित गरिएको छ। आवश्यक प्रक्रिया पूरा नगरी विज्ञापन प्रकाशित गरिएको भन्दै नगरपालिकाको शिक्षा शाखाले हस्तक्षेप गरेपछि भर्ना प्रक्रिया रोकिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख अनन्त पौडेल का अनुसार शिक्षक भर्ना गर्नुअघि नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइसँग अनुमति वा सहमति लिनुपर्ने प्रावधान भए पनि विद्यालयले त्यसलाई बेवास्ता गरेको पाइएको छ।

विद्यालयका प्रधानाध्यापक ब्रह्मदेव सिंह ले भने विद्यालयको आन्तरिक कार्यविधिअनुसार नै विज्ञापन गरिएको दाबी गरेका छन्। उनले निजी स्रोतबाट शिक्षक नियुक्त गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णय पर्याप्त हुने उल्लेख गर्दै आफूले नियमअनुसार काम गरेको बताएका छन्।

विद्यालयले चैत ३० गते १५ जना शिक्षकसहित कार्यालय सहयोगी र बस चालक गरी कुल १७ पदका लागि एक साताको म्याद राखेर विज्ञापन सार्वजनिक गरेको थियो।

यसबीच शिक्षा शाखाले विज्ञापनबारे स्पष्टीकरण समेत मागेको छ। कसको अनुमतिमा विज्ञापन निकालिएको हो भन्ने विषयमा लिखित जवाफ मागिएको प्रधानाध्यापक सिंहले जानकारी दिएका छन्। उनले अब नगरपालिकासँग छलफल गरेर अगाडि बढ्ने बताएका छन्।

यसअघि पनि सो विद्यालयमा प्रक्रिया नपुर्‍याई कर्मचारी नियुक्त गरिएको आरोप लाग्दै आएको छ। केही व्यक्तिलाई ‘सेटल’ गर्नकै लागि नयाँ विज्ञापन निकालिएको हुनसक्ने स्थानीयको आशंका छ।

यता प्रधानाध्यापकले भने निजी स्रोतबाट करार वा ज्यालादारीमा राखिने शिक्षकका लागि लाइसेन्स अनिवार्य नहुने दाबी गरेका छन्, तर प्रचलित शिक्षा नियमावलीले शिक्षण पेशाका लागि अध्ययन अनुमतिपत्र आवश्यक ठहर गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय