बीरगन्ज,०५ वैशाख । आगामी स्थानीय तह निर्वाचनअघि नै देशभरका पालिकाको संख्या र संरचना पुनरावलोकन गर्ने तयारी सरकारले अघि बढाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको संख्या तथा सीमाना हेरफेरसम्बन्धी गृहकार्य थालेको हो।
मन्त्रालयका सहसचिव प्रकाश दाहाल का अनुसार विगत करिब १० वर्षदेखि स्थानीय तहको संरचना पुनरावलोकन नभएकाले अब आवश्यकताअनुसार पुनर्संरचना गरिनेछ। यसका लागि ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, एकआपसमा गाभिन र वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड–२०८३’ को मस्यौदा तयार गरिएको छ।
मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री कार्यालयलाई परिपत्र गर्दै तीन दिनभित्र सुझाव मागेको छ। प्रस्तावमा पालिकाहरू गाभ्ने, सीमाना परिवर्तन गर्ने र वर्गीकरण पुनरावलोकन गर्ने प्रक्रिया व्यवस्थित गर्ने लक्ष्य राखिएको छ।
नेपालको संविधान २०७२ र स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाको संख्या निश्चित तोकिएको छैन, तर न्यूनतम मापदण्ड भने स्पष्ट गरिएको छ। सोही आधारमा जनसंख्या, आय, पूर्वाधार र सेवा सुविधाको स्तर पुगेमा गाउँपालिका नगरपालिकामा, नगरपालिका उपमहानगरपालिकामा र उपमहानगरपालिका महानगरपालिकामा स्तरोन्नति हुन सक्ने व्यवस्था छ।
हाल देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन्।
सरकारको यो कदमलाई जनसंख्या, सहरीकरण र पूर्वाधार विकासअनुसार स्थानीय तहलाई पुनः संरचना गर्ने प्रयासका रूपमा हेरिएको छ।

