देशभर भिटामिन ‘ए’ र जुकाको औषधि अभियान सुरु

spot_img

काठमाडौँ,०६ वैशाख  । देशभरका बालबालिकाको स्वास्थ्य सुदृढ बनाउन आजदेखि दुईदिने भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सुरु भएको छ। अभियानअन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाविरुद्धको औषधि खुवाइँदै छ।

स्वास्थ्य सेवा विभाग का अनुसार यसै अवसरमा नियमित खोप छुटेका ५ वर्षमुनिका बालबालिकालाई पनि खोप सेवा प्रदान गरिँदैछ, जसले समग्र बाल स्वास्थ्य सुधारमा थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल सरकारले सन् १९९३ (वि.सं. २०५०) देखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ भने जुकाविरुद्धको औषधि वितरण सन् १९९९ (वि.सं. २०५६) बाट सुरु गरिएको हो। यी कार्यक्रमहरू बालबालिकामा कुपोषण न्यूनीकरण र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने लक्ष्यसहित नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।

विशेषज्ञहरूका अनुसार भिटामिन ‘ए’ को कमीले बालबालिकामा रतन्धो, वृद्धि विकासमा अवरोध, रोगसँग लड्ने क्षमतामा कमी तथा दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ। पछिल्ला अध्ययनहरूले अझै पनि ५ वर्षमुनिका करिब ११ प्रतिशत बालबालिकामा भिटामिन ‘ए’ को कमी देखिएको संकेत गरेका छन्।

भिटामिन ‘ए’ प्राकृतिक रूपमा सागसब्जी, गाजर, पालक, फर्सी, आँप, टमाटर, डेरीजन्य पदार्थ, माछामासु लगायतका खाद्यवस्तुबाट प्राप्त गर्न सकिन्छ। यसले हड्डी मजबुत बनाउने, घाउ निको पार्ने, छाला स्वस्थ राख्ने र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ।

यो अभियान हरेक वर्ष दुई चरणमा सञ्चालन गरिन्छ—पहिलो चरण कात्तिकमा र दोस्रो चरण वैशाखमा। सरकारले यस कार्यक्रममार्फत बालबालिकाको पोषण अवस्था सुधार्दै स्वस्थ भविष्य निर्माण गर्ने लक्ष्य राखेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय