काठमाडाै,०६ वैशाख । नेपालमा इन्धनको मूल्य ‘क्रुड आयल’सँग तुलना गरेर महँगो भएको भन्दै फैलाइँदै आएका दाबीहरू भ्रामक रहेको नेपाल आयल निगम ले स्पष्ट पारेको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नै नेपालमा खुद्रा मूल्य निर्धारण हुने जनाएको हो।
निगमका अनुसार नेपालसँग आफ्नै रिफाइनरी नहुँदा कच्चा तेल आयात गर्ने होइन, सिधै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता छ। त्यसैले ‘क्रुड आयल’ सस्तो भएको भन्दै नेपालमा इन्धन महँगो भएको विश्लेषण यथार्थसँग मेल नखाने निगमको भनाइ छ।
निगमका प्रवक्ता मनोज ठाकुर ले भने, “क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ, त्यसैले तुलना गर्दा प्रशोधित इन्धनकै अन्तर्राष्ट्रिय मूल्य हेर्नुपर्छ।”
नेपालले इन्धन आपूर्तिका लागि इन्डियन आयल कर्पोरेसन बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ। त्यहीँबाट प्राप्त खरिद मूल्यका आधारमा हरेक १५ दिनमा मूल्य समायोजन गरिँदै आएको निगमले जनाएको छ।
निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार १६ अप्रिल २०२६ मा क्रुड आयलको मूल्य प्रतिब्यारेल ९९.६ अमेरिकी डलर हुँदा पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर पुगेको थियो। यसअघि २ अप्रिलमा क्रुड आयल ११८.३ डलर हुँदा पेट्रोल २६२ डलर र डिजेल ३३४.४ डलरसम्म पुगेको देखिएको छ।
सामान्य अवस्थामा क्रुड र प्रशोधित इन्धनबीच सीमित अन्तर रहने भए पनि पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिका कारण यो अन्तर निकै बढेको निगमले जनाएको छ। यसले नेपालजस्ता आयातमा निर्भर मुलुकहरूमा मूल्यवृद्धिको दबाब थपिएको छ।
निगमका अनुसार भन्सार, कर, ढुवानी, बीमा, भण्डारण तथा सेवा शुल्कजस्ता तत्वहरूले पनि अन्तिम खुद्रा मूल्य निर्धारणमा प्रभाव पार्ने गर्छन्।
यसैबीच निगमले वैशाख ३ गतेदेखि डिजेल–मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा हवाई इन्धनमा ५ रुपैयाँ वृद्धि गरेको छ। मूल्य समायोजनपछि पनि डिजेलमा प्रतिलिटर करिब ९९ रुपैयाँभन्दा बढी घाटा भइरहेको निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य वृद्धि भइरहँदा निगमले १५ दिनको अवधिमा झण्डै ५ अर्ब ७५ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था रहेको जनाएको छ।

