spot_img

आचारसंहिता उल्लङ्घन गर्ने पत्रकार र मिडियामाथि कारबाहीको चेतावनी

spot_img
spot_img

बीरगन्ज,०६ वैशाख । पत्रकारिताका नाममा आचारसंहिता उल्लङ्घन गर्दै अभद्र गतिविधि गर्ने पत्रकार तथा सञ्चारमाध्यममाथि कारबाही गर्ने चेतावनी नेपाल पत्रकार महासङ्घ पर्साले दिएको छ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले केही सञ्चारमाध्यम र पत्रकारहरूले समाचार सम्प्रेषणका क्रममा आधारभूत पत्रकार आचारसंहिता बेवास्ता गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

महासङ्घका अनुसार पर्सा जिल्लाबाट सञ्चालनमा रहेका केही सञ्चार माध्यम तथा सामाजिक सञ्जाल (फेसबुक, युट्युब लगायत) मार्फत प्रसारित सामग्रीमा सामाजिक सद्भाव, जबरजस्ती करणी जस्ता संवेदनशील विषय तथा व्यक्तिको गोपनीयतासँग सम्बन्धित विषयलाई गैरजिम्मेवार ढंगले प्रस्तुत गरिएको पाइएको छ।

विज्ञप्तिमा यस्ता गतिविधिले पत्रकारिताको मर्यादा मात्र होइन, समग्र सञ्चार क्षेत्रप्रति नै जनविश्वास घटाउने खतरा रहेको उल्लेख गरिएको छ। समाचार संकलन तथा प्रसारणका क्रममा न्यूनतम शिष्टता र जिम्मेवारी नअपनाएको गुनासो पनि महासङ्घले गरेको छ।

महासङ्घका पदाधिकारीहरूले यसअघि पनि सम्बन्धित सञ्चार संस्था र व्यक्तिहरूलाई पटक–पटक सचेत गराइसकेको तर अटेर गरिएको जनाएको छ। अब पनि आचारसंहिता उल्लङ्घन जारी रहेमा कडा कदम चालिने चेतावनी दिइएको छ।

महासङ्घले सबै पत्रकार तथा मिडिया हाउसलाई पत्रकार आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै जिम्मेवार पत्रकारिता गर्न अपिल गरेको छ। साथै, उल्लङ्घनका कारण उत्पन्न हुने कानुनी तथा सामाजिक जिम्मेवारी सम्बन्धित पक्षले नै वहन गर्नुपर्ने स्पष्ट पारेको छ।

आगामी दिनमा पनि आचारसंहिता विपरीत गतिविधि दोहोरिएमा आवश्यक कारबाहीका लागि महासङ्घ स्वयं अग्रसर हुने चेतावनी दिइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय