spot_img

शहीदले देखाएको मार्गमा हिँडेर उनका सपना पूरा गर्नुपर्छ: सभापति थापा

spot_img
spot_img

काठमाडौँ,१६ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शहीदहरूले देखाएको बाटोमा दृढतापूर्वक हिँड्दै उनका सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका छन्।

शहीद दिवसको अवसरमा सन्देश जारी गर्दै सभापति थापाले शहीदहरूको अदम्य साहस, सङ्कल्प र आदर्शप्रति उच्च सम्मान व्यक्त गरे। उनले शहीदहरूले देश र जनताका लागि आफ्नो जीवन समर्पण गरेकै कारण आज नेपाली जनता स्वतन्त्रताको वातावरणमा श्वास फेर्न सक्षम भएको उल्लेख गरे।

थापाले २००७ सालको जनक्रान्तिदेखि २०८२ को ‘जेनजी’ विद्रोहसम्म नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि भएका आन्दोलन तथा सङ्घर्षका क्रममा जीवन आहुति दिने सम्पूर्ण वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनका अनुसार सुदृढ र सबल लोकतन्त्रमार्फत मात्रै नेपाललाई शान्त, समुन्नत र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ। त्यसका लागि शहीदहरूले देखाएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको यात्रामा अगाडि बढ्नु सबैको साझा दायित्व हो।

सभापति थापाले नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट निर्माण भएको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’मा सुनिश्चित गरिएका जनअधिकारको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने तथा समयसापेक्ष सुधार आवश्यक रहेको पनि उल्लेख गरेका छन्।

साथै, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सामूहिक प्रयासबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य हासिल गर्न शहीद दिवसले सबैलाई प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय