काठमाडौं,०६ वैशाख । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल देखिएको छ। सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि पार्टीभित्र नयाँ राजनीतिक समिकरण बनेसँगै पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट कोइराला पक्ष अलग भएको संकेत देखिएको छ।
पार्टीभित्र मध्यमार्गी धारका रूपमा चिनिने कोइराला परिवारका नेताहरूले देउवा समूहको आइतबारको बैठकमा सहभागिता जनाएनन्। यसले पार्टीभित्र नयाँ ध्रुवीकरणको संकेत दिएको छ।
विशालनगरस्थित नेता शेखर कोइराला को सम्पर्क कार्यालयमा भएको छुट्टै भेलापछि उनीहरू आगामी नेतृत्वका रूपमा गगन थापा लाई सभापति स्वीकार गर्दै अघि बढ्ने निष्कर्षमा पुगेको बताइएको छ।
उक्त छलफलमा शशांक कोइराला र पूर्व उपसभापति धनराज गुरुङ सहितका नेताहरू सहभागी थिए। भेलामा पार्टी एकता कायम राख्दै सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्ने सहमति बनेको जनाइएको छ।
नेता गुरुङका अनुसार पार्टी फुट र विभाजनतर्फ होइन, एकताका साथ अघि बढ्ने साझा धारणा बनेको छ। “हामी कांग्रेसलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्नेमा सहमत छौँ,” उनले भने।
भेलामा सहभागी नेताहरूले पार्टीको आन्तरिक विवाद समाधान गर्दै संगठनलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्। लामो समयदेखि अलग–अलग धारमा रहेका नेताहरूबीचको यो सहमति कांग्रेसभित्रको आगामी राजनीतिक दिशाका लागि महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

