काठमाडौँ,०९ वैशाख । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरूले राजधानीमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले काठमाडौँको प्रदर्शनीमार्ग क्षेत्रमा राँके जुलुस निकाल्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनहरू संयुक्त रूपमा सडकमा उत्रिँदै इन्धनको मूल्य घटाउन माग गरेका हुन्।
उनीहरूले विरोध प्रदर्शनका क्रममा तत्काल मूल्यवृद्धि फिर्ता लिनुपर्ने, विश्वविद्यालयहरूमा भइरहेको भनिएको राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने र विद्यार्थी संगठनहरूलाई कमजोर पार्ने प्रयास रोक्नुपर्ने माग राखेका थिए।
प्रदर्शनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत माग गरिएको थियो।
विद्यार्थी नेताहरूले सरकारको नीतिले आम नागरिक र विद्यार्थी दुवैलाई आर्थिक भार परेको आरोप लगाउँदै आफ्नो माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।


