गर्भपतनका लागि विभिन्न क्लिनिक धाउँदा २९ वर्षीया महिलाको मृत्यु

spot_img

बुटवल,०९ वैशाख । पाल्पाकी एक २९ वर्षीया महिलाको गर्भपतन गराउने क्रममा विभिन्न स्वास्थ्य संस्था धाउँदै जाँदा मृत्यु भएको घटनाले गम्भीर प्रश्न उठाएको छ। बगनासकाली गाउँपालिका–२ की गीता पाण्डेको उपचारका क्रममा ज्यान गएको हो।

परिवारका अनुसार करिब १२ हप्ताको गर्भ अस्वस्थ रहेको भन्दै गीता वैशाख ५ गते श्रीमान् प्रकाश पाण्डेसँगै बुटवलस्थित खत्री नर्सिङ होम पुगेकी थिइन्। यसअघि चैत २७ गते गरिएको जाँचपछि डा. डीबी खत्रीले गर्भ असामान्य रहेको भन्दै उनलाई वैशाख ४ गतेका लागि बोलाएका थिए।

नर्सिङ होम पुगेपछि उनलाई बुटवल अस्पताल लाइनस्थित जोनल फार्मेसी क्लिनिकमा पठाइएको थियो। त्यहाँ १६ हजार रुपैयाँ लाग्ने भन्दै २ हजार रुपैयाँ अग्रिम लिएर दुई प्रकारका औषधि दिइएको प्रकाश पाण्डेले बताए। फार्मेसीको निर्देशनअनुसार औषधि सेवन गरेपछि अर्को दिन पुनः बोलाइयो।

प्रकाशका अनुसार फार्मेसीमै केही समय राखेपछि गीतालाई पछाडिको बाटो हुँदै इन्दुलेखा क्लिनिक लगिएको थियो। त्यहाँ उनलाई अलग कोठामा लगेर प्रक्रिया गरिएको र आफूलाई बाहिर राखिएको उनले बताए।

उनका अनुसार त्यसपछि गीता बेहोस भइन् र बिना जानकारी लुम्बिनी सिटी अस्पताल पुर्‍याइयो, जहाँ चिकित्सकले मृत घोषणा गरे।

प्रकाश पाण्डेले स्वास्थ्य संस्थाहरूबीच मिलेमतोमा लापरबाही भएको आरोप लगाउँदै न्यायको माग गरेका छन्। उनले उपचारका कागजात लुकाइएको समेत दाबी गरेका छन्।

घटनामा संलग्न भएको आरोपमा डा. डीबी खत्री, डा. सतिश रुपाखेती, जोनल फार्मेसी सञ्चालक सन्ध्या बस्नेत, कर्मचारी निलम घर्ती मगर तथा इन्दुलेखा क्लिनिक सञ्चालक खगेन्द्रप्रसाद पाण्डेविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दर्ता गरिएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सन्ध्या बस्नेत, निलम घर्ती मगर र खगेन्द्र पाण्डेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

घटनापछि आक्रोशित आफन्तहरूले सम्बन्धित स्वास्थ्य संस्थाहरूमा तालाबन्दी गरेका छन्।मृतक गीता पाण्डे रक्त सञ्चार सेवा केन्द्र भैरहवाकी कर्मचारी रहेको जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय