वातावरणीय प्रतिवेदनबिना उत्खनन नगर्न बारा वन कार्यालयको कडा निर्देशन

spot_img

बीरगन्ज,०९ वैशाख ।डिभिजन वन कार्यालय बाराले जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकामा भइरहेको ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननप्रति गम्भीर चासो व्यक्त गर्दै कडा निर्देशन जारी गरेको छ।

कार्यालयले दुवै स्थानीय तहलाई पत्र पठाउँदै वातावरणीय परीक्षणबिना वा स्वीकृत प्रतिवेदन कार्यान्वयन नगरी भइरहेको उत्खनन कार्य रोक्न ध्यानाकर्षण गराएको हो। जनगुनासोका आधारमा नदीजन्य पदार्थ संकलन तथा उत्खनन गतिविधिमा निगरानी बढाइएको कार्यालयले जनाएको छ।

वन क्षेत्रभित्र ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन गर्नुअघि अनिवार्य रूपमा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गराउनुपर्ने व्यवस्था रहेको स्पष्ट पारिएको छ। विशेषगरी संक्षिप्त वातावरणीय अध्ययन (IEE) वा प्रारम्भिक वातावरणीय परीक्षण (EIA) बिना कुनै पनि उत्खनन कार्य सञ्चालन नगर्न निर्देशन दिइएको छ।

कार्यालयका अनुसार ढुङ्गा, गिट्टी, बालुवा बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ले वन तथा चुरे क्षेत्रबाट अनियन्त्रित उत्खननमा रोक लगाएको छ। अत्यावश्यक अवस्थामा समेत स्वीकृत वातावरणीय प्रतिवेदनका आधारमा मात्र उत्खनन गर्न पाइने प्रावधान रहेको जनाइएको छ।

यसैगरी राष्ट्रिय वन क्षेत्रभित्र पर्ने यस्ता आयोजनाहरूको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने अधिकार मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयसँग रहेको बताइएको छ। त्यसैले स्थानीय तहहरूले प्रतिवेदन तयार गरी सम्बन्धित मन्त्रालयबाट स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

डिभिजन वन अधिकृत सुजीत कुमार झाद्वारा हस्ताक्षरित पत्रमा स्वीकृत मापदण्डअनुसार मात्र कार्य अघि बढाउन र आवश्यक परे वन कार्यालयसँग समन्वय गर्न आग्रह गरिएको छ। साथै, वातावरण निरीक्षकमार्फत जुनसुकै बेला अनुगमन तथा निरीक्षण हुन सक्ने चेतावनीसमेत दिइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय