पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान सञ्चालन

spot_img

बीरगन्ज,१० वैशाख । बाघलगायत वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियान सञ्चालन गरेको छ।

निकुञ्जसँग जोडिएका पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयसँगको समन्वयमा समुदायस्तरमा अभियान सञ्चालन गरिएको निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले जानकारी दिए।

अभियानअन्तर्गत स्थानीय समुदायको सक्रियतामा वन्यजन्तुको महत्वबारे जनचेतना फैलाउने, वन्यजन्तुबाट जोगिने उपाय सिकाउने तथा समस्या पर्दा समाधानका उपायबारे छलफल कार्यक्रम सञ्चालन भइरहेका छन्।

प्रमुख खतिवडाका अनुसार बाघ संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने लक्ष्य राखिएको छ। वनमा आगजनी, चोरी सिकारीजस्ता गतिविधिका कारण वन्यजन्तु बासस्थान छाडेर बस्तीमा पस्ने समस्या बढ्दै गएकाले यस्ता गतिविधि नियन्त्रणमा जोड दिइएको उनले बताए।

यसैबीच, निकुञ्ज प्रशासनले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वन्यजन्तुबाट पीडितलाई क्षतिपूर्तिस्वरूप १९ लाख रुपैयाँ वितरण गरेको जनाएको छ। उक्त अवधिमा सबैभन्दा बढी क्षति मकवानपुरमा भएको उल्लेख गरिएको छ।

उक्त अवधिमा हातहतियारसहित सिकारी र वनपैदावारसम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये छ वटा सिकारीसम्बन्धी र एउटा वन काठपातसम्बन्धी मुद्दा रहेको छ भने १५ जना पक्राउ परेका छन्।

त्यसैगरी, निकुञ्जले गिट्टी, बालुवा तथा वनपैदावारबाट सलामी शुल्कबापत ६० लाख ५३ हजार २५५ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय