बीरगन्ज,१० वैशाख । बीरगन्जमा सञ्चालनमा रहेका मदरसाहरूमा प्रहरीले अनुगमन तथा निरीक्षण सुरु गरेको छ।
वडा प्रहरी कार्यालय बीरगन्जको टोलीले प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा बुधबार चार वटा मदरसामा अनुगमन गरेको हो। अनुगमन टोलीले बीरगन्ज महानगरपालिका–२ छपकैयास्थित नुरन्नबी तालिमुल कुरआन, जामिया मदनिया तालिमुल कुरआन, यतिमखाना दारुल यतमा इस्लामिक तथा वडा नम्बर–३ छपकैयास्थित बरकतुल उलुम मदरसामा निरीक्षण गरेको जनाएको छ।
अनुगमनका क्रममा मदरसाहरूको प्रशासनिक अवस्था, दर्ता प्रक्रिया तथा सञ्चालनसँग सम्बन्धित कागजातहरूको जाँच गरिएको प्रहरीले जनाएको छ।
निरीक्षणका क्रममा एक मदरसा दर्ता बिना सञ्चालनमा रहेको पाइएपछि त्यसलाई तत्काल कानुनअनुसार दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिइएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार पछिल्लो समय देखिएका केही गतिविधिलाई ध्यानमा राख्दै मदरसामा अनुगमनलाई तीव्रता दिइएको हो। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जका अन्य मदरसामा पनि नियमित रूपमा अनुगमन जारी रहने जनाएको छ।

