राैतहट,१० वैशाख । रौतहटको डिभिजन वन कार्यालयमा व्यापक अनियमितता, भ्रष्टाचार र वन दोहन भएको आरोप लगाउँदै छानबिनको माग गरिएको छ।
चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालका अध्यक्ष सुनिल कुमार यादवले मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीसमक्ष डिभिजन वन प्रमुख हेमन्त साहमाथि छानबिनको मागसहित उजुरी दिएका हुन्।
उजुरीमा डिभिजन वन प्रमुख साहले सरकारी वन स्रोतको दुरुपयोग, काठ बिक्रीमा मिलेमतो, सामुदायिक वनको रकम अपचलन तथा वन तस्करीलाई संरक्षण दिएको आरोप लगाइएको छ।
सर्वसाधारणलाई सहुलियत दरमा काठ उपलब्ध नगराई स–मिलहरूसँग मिलेमतोमा कम मूल्यमा बिक्री गरिएको र काठ बिक्रीमा प्रति फिट कमिसन असुलिएको दाबी पनि उजुरीमा गरिएको छ।
त्यस्तै, सामुदायिक तथा साझेदारी वनको दिगो व्यवस्थापनका लागि विनियोजित करिब २० लाख रुपैयाँ अनियमित रूपमा खर्च गरिएको, विभिन्न वन उपभोक्ता समूहका खाताबाट रकम निकालेर अपारदर्शी रूपमा प्रयोग गरिएको आरोप समेत लगाइएको छ।
गैडाटार क्षेत्रमा करिब ५ हेक्टर वन फँडानी गरी घुस लिएको, प्रमाण लुकाउन वृक्षारोपण गरिएको र कार्यालयका महत्त्वपूर्ण कागजात नष्ट गर्न आगजनी गरिएको जस्ता गम्भीर आरोपहरू पनि उजुरीमा समेटिएका छन्।
यसैगरी नुनथर क्षेत्रमा कानुनविपरीत संरचना निर्माणमा आर्थिक चलखेल भएको, वन क्षेत्रमा काठ तस्करीलाई सहयोग पुगेको र विभिन्न अवैध गतिविधि भइरहे पनि नियन्त्रण नगरेको आरोप लगाइएको छ।
उजुरीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय वन तथा वातावरण मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको छ। उजुरीकर्ताले निष्पक्ष छानबिन र कारबाही नभए थप प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।
यता, मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले उजुरीका सबै बुँदामाथि छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्। उनले वन क्षेत्रमा भइरहेको अवैध गतिविधिप्रति सरकार गम्भीर रहेको र दोषीमाथि कडा कारबाही हुने बताएका छन्।

