बीरगन्ज , १० वैशाख । बीरगन्ज महानगरपालिकाले मेनरोड विस्तारका क्रममा घर भत्किएपछि त्यसको मौका छोपेर भाडा बढाउने, अनधिकृत धरौटी माग्ने तथा व्यवसायीलाई दबाब दिने घरधनीमाथि कारबाही गर्ने चेतावनी दिएको छ।
महानगरले बिहीबार सूचना जारी गर्दै सडक विस्तारपछि अन्य स्थानका घरधनीहरूले बहालमा बसेका व्यवसायीलाई अनुचित रूपमा भाडा बढाउन दबाब दिएको गुनासो आएको जनाएको छ। त्यस्तै, समझौता सकिनु अघि नै सटर खाली गर्न दबाब दिने र अतिरिक्त धरौटी माग्ने गतिविधि बढेको महानगरको भनाइ छ।
यस्ता कार्य नगर्न आग्रह गर्दै महानगरले यदि कोही घरधनीले नियमविपरीत गतिविधि गरेको पाइएमा जरिवानासहित प्रचलित कानुनअनुसार थप कारबाही गरिने स्पष्ट पारेको छ।
महानगरले घर, कोठा, सटर तथा गोदाम भाडामा दिँदा पक्षहरूबीच दबाबरहित रूपमा यथार्थ भाडादर तय गरी सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराउनुपर्ने व्यवस्था पनि स्मरण गराएको छ। साथै, उक्त सम्झौताको एक प्रति महानगरको राजस्व व्यवस्थापन महाशाखामा अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको छ।
महानगरले फर्जी सम्झौता पेश गर्ने वा अभावको मौका छोपी व्यवसायीमाथि दबाब सिर्जना गर्ने कार्य भेटिएमा सुरु अवधिबाटै जरिवाना र कानुनी कारबाही हुने चेतावनीसमेत दिएको छ।

