काठमाडौँ,१० वैशाख । सरकारले देशभरका सबै सरकारी निकायमा कार्यरत कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय, विभाग, कार्यालय तथा अन्य सबै सरकारी निकायलाई परिपत्र जारी गर्दै विद्युतीय हाजिरीलाई कडाइका साथ कार्यान्वयन गर्न भनेको हो। मन्त्रालयले कर्मचारीको दैनिक उपस्थिति तथा प्रस्थानको विवरण अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत अभिलेख गर्न निर्देशन दिएको छ।
परिपत्रअनुसार विद्युतीय हाजिरी लागू नभएका निकायमा तत्काल प्रणाली जडान गरी कार्यान्वयन गर्नुपर्नेछ। साथै, प्रत्येक १५ दिनमा हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर अभिलेख कार्यालयमा सुरक्षित राख्न पनि भनिएको छ।
मन्त्रालयका अनुसार २०८३ साल वैशाख ८ गतेको सचिवस्तरीय निर्णयअनुसार यो व्यवस्था लागू गरिएको हो। मन्त्रालयले कार्यान्वयनमा लापरबाही नगर्न सबै निकायलाई स्पष्ट निर्देशन दिएको छ।

