तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु बाध्यात्मक थियो : रामप्रसाद भण्डारी

spot_img

काठमाडौँ,१० वैशाख । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु आयोगको संवैधानिक दायित्व भएको बताएका छन्।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिको कार्यक्रममा बोल्दै उनले हालै सम्पन्न निर्वाचन आवधिक नभई अग्रिम रूपमा घोषणा गरिएको ‘बाध्यात्मक निर्वाचन’ भएको स्पष्ट पारे।

भण्डारीका अनुसार पाँच वर्षमा सम्पन्न हुनुपर्ने निर्वाचन राष्ट्रपतिबाट अग्रिम रूपमा घोषणा भएपछि करिब ४० महिनामै सम्पन्न गर्नुपर्ने अवस्था सिर्जना भएको थियो। “निर्वाचन घोषणा हुँदा तोकिएको मितिमा निर्वाचन सम्भव छैन भन्ने व्यापक आशंका थियो,” उनले भने, “तर आयोगले सीमित स्रोत र समयको अधिकतम उपयोग गर्दै निर्वाचन सम्पन्न गर्‍यो।”

उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न नसकिएको भए मुलुकको भविष्य अन्योलमा पर्न सक्ने खतरा रहेको बताए। भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ को उदाहरण दिँदै उनले त्यतिबेला देशभर अस्थिरता, आगजनी र तनावपूर्ण अवस्था रहेकाले निर्वाचन झन् चुनौतीपूर्ण बनेको स्मरण गरे।

भण्डारीले निर्वाचन घोषणा भएपछि असोज महिनाभर राजनीतिक दलहरूबीच मात्र नभई दलभित्रै पनि संवादको अभाव रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा आयोगलाई काम गर्न सहज नभएको स्वीकार गरे।

उनले अन्त्यमा निर्वाचनको विकल्प निर्वाचन नै भएको र संवैधानिक जिम्मेवारी पूरा गर्न आयोग प्रतिबद्ध भएर काम गरेको बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय