जनकपुर,११ वैशाख । मधेश प्रदेश सरकार ले धनुषा र सिरहा जोड्ने कमला पुल नयाँ निर्माण गर्ने तयारी अघि बढाएको छ।
मुख्यमन्त्री कृष्णा प्रसाद यादवले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलपछि हाल मर्मत भइरहेका कमला पुल पर्याप्त टिकाउ नदेखिएकाले नयाँ पुल नै निर्माण गर्नु उपयुक्त हुने निष्कर्षमा सरकार पुगेको जानकारी दिएका छन्।
सिरहाबाट आएका नयाँ कमला पुल निर्माण संघर्ष समितिका प्रतिनिधिहरूसँग भएको छलफलपछि मुख्यमन्त्री यादवले प्राविधिक कमजोरीका कारण मर्मत कार्य दीर्घकालीन समाधान नहुने देखिएको बताएका हुन्।
हाल केन्द्र सरकारको निर्देशनअनुसार पुल मर्मत भइरहेको भए पनि कामको गति र प्राविधिक अवस्थाका कारण तोकिएको समयभित्र सम्पन्न हुने सम्भावना कम देखिएको बताइएको छ।
प्रदेश सरकारले नयाँ पुल निर्माणका लागि करिब २०० करोड रुपैयाँ लागत अनुमान गरेको छ। तर यति ठूलो परियोजना सञ्चालन गर्न प्रदेशसँग स्पष्ट कार्यविधि नभएकाले संघीय सरकारसँग समन्वय गरेर अगाडि बढाइने मुख्यमन्त्री यादवले बताएका छन्।
उनका अनुसार आवश्यक छलफलका लागि छिट्टै काठमाडौं पुगेर सम्बन्धित निकायसँग समन्वय गरिनेछ। नयाँ पुल निर्माण भए धनुषा–सिरहा क्षेत्रका बासिन्दाले ठूलो सुविधा पाउने विश्वास पनि उनले व्यक्त गरेका छन्।

