वीरगन्ज,११ वैशाख । वीरगन्ज महानगरपालिकाले सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमिहिन बनेका नागरिकलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।
महानगरले शुक्रबार सूचना जारी गर्दै राजमार्गको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्र रहेका घरटहरा हटाउँदा विस्थापित भएका नागरिकहरूलाई आफ्नो विवरण पेश गर्न आह्वान गरेको हो। त्रिभुवन राजपथअन्तर्गतको सडक विस्तारका क्रममा धेरै परिवार पूर्ण रूपमा भूमिहिन बनेको भन्दै उनीहरूको तथ्यांक संकलन गर्न लागिएको जनाइएको छ।
महानगरका अनुसार देशका अन्य स्थानमा पनि कुनै जग्गा नभएका वास्तविक भूमिहिनहरूलाई राहत दिनका लागि यो प्रक्रिया सुरु गरिएको हो। प्रभावित नागरिकलाई ३० दिनभित्र आवश्यक प्रमाणसहित निवेदन दिन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार लगत संकलन प्रक्रिया अघि बढाइएको हो।
महानगर प्रमुख राजेशमान सिंह ले संकलित विवरणको छानबिनपछि वास्तविक पीडितलाई राहत उपलब्ध गराउन संघीय सरकारसमक्ष सिफारिस गरिने बताएका छन्। थप जानकारीका लागि महानगरको भूमि व्यवस्थापन तथा शहरी विकास महाशाखाका प्रमुख गौरव कुमार झा सँग सम्पर्क गर्न आग्रह गरिएको छ।

