काठमाडौँ, १२ वैशाख । थापाथलीस्थित बागमती नदी किनारको सुकुमवासी बस्तीमा शनिबारदेखि डोजर चलाइएको छ। सार्वजनिक जग्गा तथा नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचना हटाउने सरकारी अभियानअन्तर्गत स्काभेटर प्रवेश गराइएको हो।
यसपटकको हटाउने प्रक्रिया विगतभन्दा फरक देखिएको छ। सम्भावित तनावलाई ध्यानमा राख्दै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि अवस्था शान्तिपूर्ण रहेको छ। नेपाल प्रहरी र नगर प्रहरीका टोलीहरूले बस्तीमा बसोबास गर्दै आएका परिवारका सरसामान सुरक्षित स्थानमा सार्न सक्रिय रूपमा सघाइरहेका छन्।
घरभित्र रहेका दैनिक प्रयोगका सामग्री—लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर र ओछ्यान—नोक्सान नहोस् भनेर प्रहरीले आफैं बोक्दै स्थानान्तरण गरेको दृश्य देखिएको छ। विगतमा यही क्षेत्रमा डोजर चलाउने प्रयास गर्दा स्थानीय र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो, तर यसपटक प्रशासनले सहयोगात्मक रणनीति अपनाएको देखिन्छ।
सरकारले यसअघि नै पटक–पटक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न निर्देशन दिँदै आएको थियो। दीर्घकालीन रूपमा बागमती नदीको संरक्षण र कोरिडोर विकास योजनाअनुसार अतिक्रमित संरचना हटाउने कार्यलाई अघि बढाइएको जनाइएको छ।

