काठमाडाै, १२ वैशाख । भारतको बिहारस्थित पूर्णिया जिल्लामा कार्यरत महिला थाना प्रमुख (एसएचओ) शबाना आजमी निलम्बित भएकी छन्। प्रहरी आचारसंहिता उल्लंघन गर्दै वर्दीमै सामाजिक सञ्जालका लागि ‘रिल’ बनाएको आरोपमा उनलाई पदबाट हटाइएको हो।
जिल्ला प्रहरी प्रमुख स्वीटी सहरावतले विभागीय मर्यादा कायम राख्न असफल भएको निष्कर्षसहित आजमीमाथि तत्काल लागू हुने गरी कारबाही गरेको जनाइएको छ। प्रहरी मुख्यालयले वर्दीको दुरुपयोग नगर्न जारी गरेको मापदण्ड (एसओपी) पटक–पटक उल्लंघन भएपछि यस्तो निर्णय लिइएको हो।
प्रहरी संगठनले लामो समयदेखि सामाजिक सञ्जालको प्रयोगमा कडाइ गर्दै वर्दीमा भिडियो वा सामग्री उत्पादन नगर्न स्पष्ट निर्देशन दिँदै आएको छ। तर चेतावनी बेवास्ता गर्दै आएको भन्दै आजमीविरुद्ध कठोर कदम चालिएको अधिकारीहरूको भनाइ छ।
यस विषयमा प्रतिक्रिया दिँदै एसपी सहरावतले संगठनको अनुशासन र वर्दीको गरिमामा कुनै सम्झौता नहुने स्पष्ट पारिन्। साथै उनले सबै सुरक्षाकर्मीलाई निर्धारित आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिएकी छन्।
आजमी यसअघि पनि विभिन्न विवादमा मुछिँदै आएकी थिइन्। कार्यालयकै कुर्सीमा परिवारका सदस्यलाई राखेर तस्बिर खिचाएको र सामाजिक सञ्जालमा सार्वजनिक गरेको विषयले समेत उनको आलोचना भएको थियो। विभागले बारम्बार सचेत गराउँदा पनि सुधार नआएको भन्दै अन्ततः निलम्बनको निर्णय लिइएको हो।
यस घटनाले पूर्णियासहित आसपासका जिल्लामा प्रहरी संयन्त्रभित्र चर्चा र सतर्कता बढाएको छ। सामाजिक सञ्जालको आकर्षणमा परेर वर्दीको मर्यादा उल्लंघन गर्नेहरूका लागि यो कदम चेतावनीका रूपमा हेरिएको छ।

