काठमाडौं,१२ वैशाख । सिन्धुलीको हिरासतमा एक युवकको मृत्यु भएको घटनाको विरोधमा राजधानीमा प्रदर्शन गरिएको छ। माइतीघर मण्डलामा शनिबार संयुक्त राजनीतिक दलित संघर्ष समितिको अगुवाइमा धर्ना तथा प्रदर्शन गरिएको हो।
सुनकोशी गाउँपालिका–३ का २३ वर्षीय श्रीकृष्ण विक को गत वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोट को हिरासतमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरिएको हो।
प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरूको समेत सहभागिता रहेको थियो। सहभागीहरूले दलित समुदायमाथि भइरहेको विभेद अन्त्य गर्न र मृतकलाई न्याय दिनुपर्ने माग राख्दै प्लेकार्ड प्रदर्शन गरेका थिए।
परिवारका अनुसार अन्तरजातीय प्रेमविवाहपछि केटी पक्षले जबरजस्ती करणीको मुद्दा दर्ता गराएपछि श्रीकृष्णलाई पक्राउ गरिएको थियो। पीडित पक्षले उनलाई झुटा आरोपमा फसाइएको दाबी गर्दै हिरासतभित्र भएको मृत्यु स्वीकार्य नभएको बताएका छन्।
अधिकारकर्मी र स्थानीयहरूले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

