काठमाडौं,१२ वैशाख । प्रभु साहले माता सीताको जन्मजयन्तीलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक बिदासहित राष्ट्रिय पर्वका रूपमा मनाउन सरकारसँग माग गरेका छन्।
आम जनता पार्टीका अध्यक्ष समेत रहेका साहले शनिबार कोटेश्वरमा आयोजित जानकी जयन्ती समारोहलाई सम्बोधन गर्दै यस्तो माग गरेका हुन्। कार्यक्रम आम महिला मोर्चा काठमाडौँ उपत्यका विशेष कमिटीले आयोजना गरेको थियो।
साहले नेपाल राम नवमी र कृष्ण अष्टमी जस्ता पर्व मनाउने भए पनि आफ्नै देशकी राष्ट्रिय विभूति सीता माताको जन्मजयन्तीलाई उपेक्षा गरिएको टिप्पणी गरे। उनले सीता जयन्तीलाई राष्ट्रिय गौरवका रूपमा राज्यस्तरमै मनाउनुपर्नेमा जोड दिए।
उनका अनुसार सीता माताको जीवन केवल धार्मिक आस्थासँग मात्र नभई सामाजिक रूपान्तरण, नारी सशक्तिकरण, सहनशीलता र आत्मसम्मानको प्रेरणास्रोत पनि हो। उनले सीताको आदर्शले आजको समाजलाई लैङ्गिक समानता र सामाजिक न्यायतर्फ अघि बढ्न मार्गदर्शन गर्ने बताए।
साहले यसअघि पनि विभिन्न सरकारसमक्ष सीता जयन्तीलाई राष्ट्रिय पर्व घोषणा गर्न प्रस्ताव गरेको स्मरण गराउँदै माग पूरा नभएको उल्लेख गरे। तर अहिले नयाँ नेतृत्व आएको भन्दै उनले पुनः यो विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
कार्यक्रममा पार्टीका विभिन्न नेताहरू, महिला मोर्चाका पदाधिकारी तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

