काठमाडौं,१२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरूको सरुवा तथा काज फिर्ता गर्दै विभिन्न महाशाखा र विभागमा जिम्मेवारी हेरफेर गरेको छ।
मन्त्री निशा मेहता को मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालय, विभाग तथा केन्द्रका केही महाशाखा प्रमुखहरूको जिम्मेवारी परिवर्तन गरिएको हो।
मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख दिवश आचार्यका अनुसार स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुखमा डा. अनुज भट्टचनलाई जिम्मेवारी दिइएको छ। उनको स्थानमा डा. चुमनलाल दासलाई सरुवा गरिएको छ।
त्यसैगरी, परिवार कल्याण महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई नारायणी अस्पतालमा सरुवा गरिएको छ।
यसैबीच, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEOC) का प्रमुख तथा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई वीर अस्पतालमा काज फिर्ता गरिएको छ।
अब मन्त्रालयको नयाँ प्रवक्ताको जिम्मेवारी समन्वय महाशाखा प्रमुख यशोदा अर्याल ले सम्हाल्ने भएकी छन्। मन्त्रालयले यो सरुवा तथा जिम्मेवारी हेरफेरलाई कार्यसम्पादन सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको जनाएको छ।

