काठमाडौं,१२ वैशाख । आफ्नै अभिव्यक्तिका कारण विवादमा परेका विश्वराज पोखरेल ले सार्वजनिक रूपमा माफी मागेका छन्।
ओखलढुङ्गाबाट निर्वाचित तथा पूर्व एआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय का प्रधानाध्यापकले स्वागतमा नआएको विषयलाई लिएर गरेको टिप्पणीपछि विवादमा तानिएका थिए।
घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको व्यवहारप्रति व्यापक आलोचना भएको थियो। त्यसपछि पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति खेद व्यक्त गरेका छन्।
उनले सार्वजनिक गरिएको भिडियो पूर्ण सन्दर्भबिना काटछाँट गरिएको दाबी गर्दै त्यसले वास्तविक घटनालाई गलत रूपमा प्रस्तुत गरेको बताएका छन्। तर उनले आफ्नो बोली र व्यवहार अपेक्षित संयममा नरहेको स्वीकार गरेका छन्।
पोखरेलले सार्वजनिक जीवनमा रहँदा आफ्नो प्रतिक्रिया अझ धैर्यपूर्ण, मर्यादित र सम्मानजनक हुनुपर्ने भन्दै माफी मागेका हुन्।
यसअघि सार्वजनिक भएको भिडियोमा उनले विद्यालयका प्रधानाध्यापकलाई स्वागतमा नआएको भन्दै कडा शब्दमा हप्काएको देखिएको थियो, जसले राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक आलोचना निम्त्याएको थियो।

