पथलैयामा ओभरलोड सवारीविरुद्ध कडाइ, दुई दिनमै ६ गाडी कारबाहीमा

spot_img

बारा,१२ वैशाख । पथलैया क्षेत्रमा ट्राफिक प्रहरीले ओभरलोड मालवाहक सवारीसाधनविरुद्ध निगरानी कडा बनाएको छ। क्षमताभन्दा बढी सामान बोकेर सञ्चालन हुने सवारीलाई लक्षित गर्दै सुरु गरिएको अभियानअन्तर्गत दुई दिनमै ६ वटा गाडी कारबाहीमा परेका छन्।

नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार उक्त कारबाहीबाट १ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंह ले अब ओभरलोड सवारीलाई सामान्य जरिवानामा छोड्ने अभ्यास अन्त्य गरिएको बताए।

उनका अनुसार यस्ता सवारीलाई सिधै यातायात व्यवस्था कार्यालय बीरगन्ज पठाई कडा कारबाही गर्ने व्यवस्था लागू गरिएको छ। साथै, मधेश प्रदेशभरका मातहत कार्यालयलाई समेत ओभरलोड नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको उनले जानकारी दिए।

कार्यालयका तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख १० गतेसम्म २६५ ओभरलोड सवारी कारबाहीका लागि सिफारिस भइसकेका छन्, जसबाट ४० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

ट्राफिक कारबाही ओभरलोडमा मात्रै सीमित नरहेको जनाउँदै चैत मसान्तसम्म ८० हजारभन्दा बढी सवारीमाथि गरिएको कारबाहीबाट ७ करोड रुपैयाँभन्दा बढी राजस्व उठाइएको छ। साथै, मापसे गरेर सवारी चलाउने ३,२४५ चालकलाई पनि कारबाही गरिएको छ।

जनचेतना अभिवृद्धिका लागि १६ हजारभन्दा बढी कार्यक्रम सञ्चालन गरिएको र ७ लाखभन्दा बढी नागरिक लाभान्वित भएको कार्यालयले जनाएको छ।

मधेश प्रदेशमा बढ्दो सवारी दुर्घटनालाई लक्षित गर्दै ट्राफिक प्रहरीले विशेष निगरानी तीव्र पारेको छ। चालु वर्षमै ६ हजारभन्दा बढी दुर्घटना हुँदा ३९८ जनाको मृत्यु भएको छ भने ९ हजारभन्दा बढी घाइते भएका छन्।

यसैबीच, पटक–पटक नियम उल्लंघन गर्ने १५ जना चालकको लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको जनाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय